मृत्युलाई अंगालेर मात्र बाँचेको छु Poem by Basanta Lohani

मृत्युलाई अंगालेर मात्र बाँचेको छु

एउटा त्यस्तो कृष्ण
जस्ले निरास भएको अर्जुनलाई
विश्वास देखाउन खोजिरहेको हुन्छ
कर्ममा विश्वास दिलाउने अर्थमा
जिन्दगी समेटिएको हुन्छ
लाग्छ
त्यसले उज्यालो छर्न सक्छ
विवेक बचाउन सक्छ
यसरी मृत्युसँग लयवद्ध भएको जिन्दगानीको गीत
अनि टाढा-टाढासम्म गुञ्जिन सक्छ
समय रोकिन सक्तैन
तर जिन्दगी रोकिन निष्चित छ

त्यो बेलामा
जब मान्छेको मृत्यु नहुने हुन्छ
अनि आफैले कल्पना गरे पनि हुन्छ
मृत्यु विनाको जिन्दगी कस्तो हुन्छ भनेर
नपत्याए ती अष्ठ चिरञ्जीवीलाई सोधे हुन्छ
मलाई त लाग्छ त्यो जिन्दगी
हजार विच्छीले टोके जस्तो हुनेछ
आजको बिश्वमा चिरञ्जीवी त कोही पनि छैन
कलीमा बली चढाएर सधैँ को बाचेको छ र?
त्यसैले म बाँचेको प्रत्येक नयाँ दिनलाई
आफ्नो जन्म दिन ठान्छु
किनकी म प्रत्येक दिन
मृत्युलाई अँगालेर मात्र बाँचेको छु
यसरी बाँच्दा
मैले जिन्दगी पाएको छु
एउटा यस्तो जिन्दगी
जसलाई म माया गर्दछु
अनि सिर्जनाका बुँदहरु
हराउलान् भनेर
यत्नसँगै समेट्न खोज्छु
जुन बुँदहरुमा
मैले सप्तरङ्गी ईन्द्रेनी देखेको छु

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success